बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


0
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।

सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो ।

समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली विद्याथीको संख्या बढाउने र त्यहाँ रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो ।

त्यस्तै, म्यानमारका लागि प्रस्तावित राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले म्यान्मारस्थित नेपाली दूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारी शीघ्र र निरन्तर प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै ओमानका लागि प्रस्तावित राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौता कार्यान्वयन गर्न विशेष पहल गर्ने बताउनुभयो । उहाँले थाती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौता अघि बढाउन र द्विपक्षीय सम्झौता कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो ।

नेपालको हाइड्रोपावरको क्षेत्रमा ओमानले लगानी गर्न चाहेकोले लगानी भित्र्याउन जोड दिने उहाँले बताउनुभयो ।