
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले गरेको छलफलका क्रममा दुबैजनाले सरकारलाई यो सुझाव दिएका हुन् ।
नेपाल र भारतका सरकारी अधिकारीबीच जो जहाँ छन्, त्यही देशको सरकारले क्वारेन्टाइनमा राख्ने सहमति भएअनुसार आफ्नो घर आएका धेरै नेपाली सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले लकडाउनको अवधि बढाउन उपयुक्त हुने सुझाव दिएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् ।
सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सांसद विकास कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्चनबारे भने सरकारलाई नै निर्णय गर्न भनेका छन् ।
दुबै सदनका प्रमुखले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्