
यज्ञराज पाण्डे (इमेज)
काठमाडौं, चैत २८ । कोरोनाभाइरसको संक्रमणले विश्वको अर्थतन्त्र प्रभावित बनेको छ ।
विश्व आर्थिक मन्दीतर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका संस्थाहरुले बताइसकेका छन् ।
‘आईएमएफ’की प्रमुख क्रिस्टालिना जर्जियावाले विश्वले अहिले सन् १९३० को दशकयताकै गम्भीर आर्थिक संकटको सामना गरेको बताएकी छन् ।
कोरोनाको महामारीले विश्व अर्थतन्त्रको वृद्धिदर यो वर्ष तीव्रगतिमा नकारात्मक हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको अध्ययनमा महामारीपछि ‘लकडाउन’ले धेरै कम्पनीहरु बन्द भइ कर्मचारी कटौती गर्दा विश्वका ८१ प्रतिशत सक्रिय कामकाजीले आफ्नो काम पूर्ण वा आंशिकरुपमा गुमाएको देखिएको छ ।
आईएमएफकी प्रमुख क्रिष्टलिना जर्जियावाले यसअघि नै विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको र अबको केही समयपछि विश्व अर्थतन्त्रमा उच्च गिरावट आउने संकेत गरेको बताएकी छन् ।
यतिबेला सबै मुलुकको पहिलो दायित्व आफ्ना जनतालाई कोरोनाको कहरबाट बचाउनु बनेको छ ।
सँगसँगै अर्थतन्त्रलाई संकुचित हुनबाट बचाउन विभिन्न देशहरुले आफ्नो आर्थिक क्षमताअनुसार राहत प्याकेज ल्याउन थालेका छन् भने सोही अनुकूलको मौद्रिक र बृहद् आर्थिक नीति पनि अघि सार्दै छन् ।
तर, नेपाललाई भने रोगसँगै लड्न हम्मे–हम्मे परेको छ । सार्वजनिक स्वास्थ्यको संकटबाट अहिलेसम्म जोगिएपनि नेपाली अर्थतन्त्रलाई गति दिने मुख्य चार क्षेत्र पर्यटन, पूर्वाधार निर्माण, रेमिट्यान्स र वैदेशिक व्यापारमा यसको गम्भीर संक्रमण सुरू भएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र बन्दा अर्थतन्त्रमा दूरगामी असर पार्ने भएको छ ।
भ्रमण वर्ष स्थगित भइ पर्यटकको संख्या घट्दा होटल क्षेत्र थला परेको छ ।
वैदेशिक रोजगारीमा संकट आउँदा अर्थतन्त्रलाई टेको दिएको रेमिट्यान्सको भरथेग डगमगाउने अवस्थामा पुगेको छ ।
यसका लागि सरकारले शीघ्र समाधानका उपाय अपनाउनुपर्ने बताउँछन्, पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा ।
विश्वका १० उच्च आर्थिक वृद्धिदर भएको मुलुकमा समेटिएको नेपालको आर्थिक अवस्था कोरोनाको कहरपछि संकटमा पर्ने खतरा छ ।
संक्रमण रोक्न प्रयासरत् सरकारले भोलिको चुनौती सामना गर्न अहिल्यै थप रणनीति बनाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्