२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


भारतको धौलीगंगा बाँध खोलियो, महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा त्रसित


0
Shares

बैतडी । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिँदा महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइसमेत गर्नुपर्ने भएकाले परियोजनाले आज बिहान ७ बजे बाँध खुला गरेको हो ।

यसअघि आइतबार नै भारतीय पक्षले बाँध खोलिन बारे नेपाली प्रशासनलाई जानकारी दिइसकेको छ ।

बाँधको पानी खोलिँदा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले पूर्व सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

धौलीगंगा बाँधको पानी मंगलबार बिहानसम्मका लागि खुला गरिने बताइएको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

धौलीगंगाबाट दार्चुलाको नदी तटीय क्षेत्रमा पानी पुग्न करिब २ घन्टासम्म समय लाग्ने गर्दछ ।

दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोग गरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

२८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा बाँध यस वर्षमात्रै चार पटक खोलिएको छ । २०७० सालमा धौलीगंगा बाँधकै कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो ।