भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको क्लिनस्वीप, अरू सबैको जमानत जफत « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको क्लिनस्वीप, अरू सबैको जमानत जफत


15.717k
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित हुनु भएको छ । उहाले २९ हजार २५२ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४०७ मत पाउनु भएको छ । त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८४१, स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९, राप्रपाका बद्री लाखाजुले १ हजार ८१, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७६१, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१० र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२३ मत पाउनु भएको छ ।

यसैगरी, उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ७५९ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८, राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार २५७ मत प्राप्त गर्नु भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरमा प्रजापति, उपमेयरमा जोशी का साथै वडा अध्यक्ष र वडा सदस्य सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका थिए ।

यसैगरी, नेमकिपा बाहेकका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल तथा स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको छ ।