८ असार २०८१, शनिबार | Sat Jun 22 2024


नौ जना उम्मेदवारको निधन


2.769k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ।’

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी शोभावती कुर्मी र दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको सोमबार मृत्यु भएको थियो। महाराजगन्ज नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी कर्मीको हृदयाघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको निर्वाचन प्रचारप्रसारका क्रममा बिरामी परेपछि दुईपटक नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।