
सन्तोष राउत
सोलुखुम्बु, साउन २७ । सोलुखुम्बुबको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीलाई चार दिनसम्म खोज्दा पनि फेला पार्न नसकेपछि सशस्त्र प्रहरी बलको गोताखोरसहितको उद्धार टोली फर्किएको छ ।
बुधबार बिहानदेखि तालमा विभिन्न प्रविधि प्रयोग गरी खोजी गरिएको हो । पहिलो दिन पेम्बानुरु शेर्पाको शब फेला परेको भए पनि बाँकी दुई जना विद्यार्थी नभेटेपछि उद्धार टोली फर्किएको हो ।
हाइ अल्टिच्युडमा रहेको हिमतालको तापक्रम सँधै माइनस दुई डिग्री सेल्सियसभन्दा कम हुने भएकाले चार दिनसम्म लगातार खोजी कार्य गर्दा तराईको प्रचण्ड गर्मीबाट आएको गोताखोर टोलीका सदस्यलाई स्वास्थ्यमा समस्या भएपछि खोजी कार्य स्थगित गरी टोली फर्किएको खुम्बुपासाङल्हामू गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा खोजी कार्यमा संलग्न सदस्य लक्ष्मण अधिकारीले बताए । मौसम राम्रो भएमा सोमबार टोली राजधानी फर्कने उनको भनाइ छ ।
अत्याधिक चिसोका कारण गोताखोर टोलीको स्वास्थ्यमा समस्या आउनुका साथै मौसम प्रतिकुलताका कारण खोजी कार्यलाई स्थगित गरिएको हो । अध्यक्ष अधिकारीकाअनुसार बेलायतमा पानीभित्रको अवस्था पत्ता लगाउन सकिने अत्याधुनिक क्यामेरा र रोबोट पाउने भएकाले त्यसलाई ल्याएर खोजी गर्ने बारेमा छलफल भइरहेको छ ।
समुद्री सतहबाट चार हजार ७५० मिटरको उचाईमा रहेको गोक्यो हिमतालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म भएकाले माइनस डिग्रीमा पौडिएर उद्धार गर्नु निकै चुनौतिपूर्ण हुन्छ । हिमतालमा अन्दाधुन्द प्रवेश गर्नुभन्दा पहिले उच्च प्रविधियुक्त क्यामेरा जडान गरी शव रहेको स्थान पत्ता लगाएर पानीमा पस्नुपर्ने हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताएका थिए । तर गोताखोरको टोली सिधै पानीमा पौडिएर खोजी गर्दा स्थास्थ्यमा समस्या उत्पन्न भएको हो ।
उक्त तालका बारेमा विस्तृत अध्ययन गरेका अध्यक्ष डा.रेग्मीले गोताखोरको टोलीलाई सचेत भएरमात्र तालमा पस्न सुझाएका थिए । उनले तालको बाहिरी भागमा ढुङ्गा भए पनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो भएकाले विद्यार्थीको शव हिलोमा गाडिएको हुनसक्ने बताएका छन् ।
उक्त उद्धार टोलीमा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर र तीन जना विपद व्यवस्थापनका तालिम प्राप्त सदस्य सहित पाँच जना, नेपाली सेनाका पाँच जना, नेपाल प्रहरी पाँच जना र स्थानीय जनप्रतिनिधि एवं स्थानीय १६ जना गरी ३१ जनाको टोलीले परिचालित थियोे । बेपत्तामध्ये पेम्बादोर्जी शेर्पा र सुनिल बराईलीको अवस्था अज्ञात छ ।
साउन १८ गते भ्रमणमा गोक्यो क्षेत्र गएका खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का विद्यार्थीमध्ये १९ गते गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस्