२ दिन विदा : जनतालाई गाह्रो कि सुविधा ? « Imagekhabar – Online News Portal of Nepal


२ दिन विदा : जनतालाई गाह्रो कि सुविधा ?


273
Shares

संसारमा शनिबार र आइतबार २ दिन विदा हुने धेरै देशहरू छन् । नेपालमा हप्ताको १ दिन शनिबार विदा दिने चलन राणा प्रधानमन्त्री भीम शमशेरका पालादेखि चलेको हो । यतिखेर फेरि हप्तामा २ दिन विदा दिने निर्णय सरकारले गरेको छ तर यो निर्णय आलोचनाका घेरामा चाहिँ परिसकेको छ । अझ खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ यसले विवादका नयाँनयाँ बखेडा झिकेको छ ।

२ दिने विदा शिक्षा र स्वास्थ्य क्षेत्रमा दिनु हुँदैन भन्ने कुराका पक्षमा धेरैले धेरैथरी टीका टिप्पणीहरू गरिसकेका छन् ।‘अहिले दिने भनिएको २ दिने विदा यही २०७९ साल जेठ १ र २ गतेदेखि सक्रिय हुनेछ । यसपछि यो विदा सक्रिय भयो भने यसले नेपाली जनजीवनमा धेरैथरी सकारात्मक र नकारात्मक असर गर्न सक्ने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् ।

‘२ दिन विद्यालय बन्द : निर्णय र विधि दुवै गलत’ भन्दै नेपाल राष्ट्रिय शिक्षक संघठनका अध्यक्ष लक्ष्मण शर्मा भन्छन् –‘मैले थाहा पाएसम्म दक्षिण र पूर्वी एसियाली देशमा हाम्रोभन्दा लामो वर्किङ् हावर छ । उनीहरू दिउँसो विद्यार्थीलाई खाजा खुवाउँछन् । बिहान ८ः३० बजे स्कुल बोलाएर बेलुकीसम्म राख्छन् । हाम्रोमा यस्तो अभ्यास छैन । बल्लतल्ल प्राथमिक तहका विद्यार्थीलाई १५ रूपैयाँ खाजाखर्च प्राप्त हुन्छ जबकि एक कप चियाकै अहिले २५ रूपैयाँ पर्छ ।’

उनीअघि भन्छन् –‘नयाँ अवस्थाको सिर्जना, घट्दो विदेशीमुद्रा सञ्चिती, अक्कासिँदो इन्धनमूल्य र बढ्दो ट्राफिकजामले अवस्था परिवर्तन भयो । यस्तो अवस्थामा निर्णय गर्ने जिम्मा त्रिविका प्राध्यापकलाई समेत दिन सकिन्थ्यो । निर्णय दृष्टिकोणले यो गलत छ भने विविध हिसाबले अपूरो । हामी निर्वाचन मुखैमा छौं । यसलाई सार्वजनिक बहसको विषय बनाउन सकिन्थ्यो । चुनावी घोषणापत्रका विषय बनाएर जनअनुमोदनपछि लागू गरेको भए हुन्थ्यो तर निर्णय गलत त भयो नै विधिसमेत उल्टो देखियो ।’

शर्मा अभिमतको ठीक विपरीत विचार राख्दै त्रिविबाट विद्यावारिधिरत दीपेश घिमिरे भन्छन् –‘नेपालमा उहिल्यै २ दिन विदा हुनु पर्दथ्यो । अर्थतन्त्र र पेट्रोलको कुरालाई लिएर अहिले यो विदा उठेको हो । जहाँसम्म स्कुलमा ९ः३० देखि ५ः३० को समयको कुरा छ त्यो किन व्यवहारिक छ भने अब कक्षा १ देखि ५ मात्र नभएर शिशुदेखि कक्षा १२ सम्मलाई नै राज्यले खाजा नखुवाई सुख पाउँदैन । कूल बजेटको कम्तिमा २० प्रतिशत बजेट त शिक्षामा हुनुपर्छ । वर्षेनी शिक्षा बजेट बढाउनुको विकल्पै छैन । जहाँसम्म दैनिक प्रति विद्यार्थी १५ रूपैयाँ खाजा खर्च भन्ने छ त्यसलाई सामयिक रूपमा वृद्धि गर्नुपर्छ । २ दिन विदा दिएर पाठ्यक्रम छोट्याउनतिर लाग्नुपर्छ । अहिले ८ देखि १२ कक्षामा १ सय पूर्णाङ्कमा पढाइ भएका सबै विषयलाई ५० मा झार्दा कूल ४÷३ सय पूर्णाङ्कमा आउँछन् अनि बाँकीको चाहिँ ती कक्षामा व्यावसायिक विषय पढाउनु पर्छ । ४ सयका व्यावसायिक विषय पढाउन यत्तिका ९ः३० देखि ५ः३० सम्म लामो ‘वर्किङ् हावर’ चाहिँदैन । अझ १०–४ गरेर २ दिन विदा दिन सकिन्छ । हाइस्कुलका विद्यार्थीहरू आफ्नो भूगोल अनुसारका विषयमा प्रयोगात्मक सीपसहित व्यावसायिक अध्ययन गर्छन् । यसो हुँदा स्थानीय तहमा उत्पादन वृद्धि गर्न सकिन्छ । कृषिलाई हेला देश उम्ँिकदैन । अतः २ दिन विदामात्र नभएर सकिन्छ भने १५ दिनमा तलब दिने डिजिटल सिष्टम विकास गर्नुपर्छ । अनि आर्थिक गतिविधिका फ्लो बढ्छन् ।’

माथिका कुरा मिठा लाग्छन् तर यथार्थ के हो भने हामीले अब देशलाई पेट्रोल प्रयोगका कुरामा, विदेशी मुद्रा सञ्चितीका कुरामा या दुई दिने विदाका कुरामा अल्झाइरहने होइन कि देशका लागि के गर्दा फाइदा छ, के गर्दा फाइदा छैन त्यो सब कुरा ‘स्वट एनालाइसिस्’ गर्दै ‘समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान’ गर्न सकेनौं भने देश हाम्रा पालामा उठ्न गाह्रो छ । पक्ष विपक्षमा बहस गर्दै गरौंला अहिले काम गर्ने हो ।

२ दिने विदाका फाइदाहरू नदेखिने खाले छन् । यसले आन्तरिक पर्यटनको ह्वात्तै वृद्धि गर्छ । कक्षा १०,११ र १२ का विद्यार्थीहरूलाई स्थानीय तहमा होम स्टे, अग्र्यानिक होटल–मोटेल, रेष्टुरेन्ट, स्थानीय जाति र भूगोलको साँस्कृतिक कार्यकक्रम प्रदर्शन, स्थानीय स्तरमै कुटीर उद्योगबाट उत्पादित वस्तु विक्रीका कोसेली घर निर्माण र छोछोटो पद यात्रामा पथ प्रदर्शकमा भूमिका निर्वाह गर्न लगाएर पढाइ साथमा सीप सिकाउँदै प्रशस्त आजआर्जन गराउन सकिन्छ । यसरी गराउँदा अहिलेको वर्किङ् हावरलाई बद्ल्ने गरी आएको २ दिने विदा नै उपयुक्त हुन्छ । विकसित देशमा ३ महिने समर विदामा सबै हाँचका विद्यार्थी काम गरेर पैसो जम्मा गर्छन् र अध्ययनमा लगाउँछन् । नेपालले अब त्यो युगमा प्रवेश गर्नु ढिला भैसक्यो ।

दोस्रो मानिसहरू घरबाहिर घुम्न र खान निस्कने संस्कृति बसाउन सकियो भने पैसाको साप्ताहिक फ्लो बजारमा ह्वात्तै बढ्छ । अर्कातिर सरकारी या गैर सरकारी कार्यालयमा २ दिन बचेको बिजुली उद्योगमा दिन सकियो भने उत्पादन बढाउन मद्दत मिल्छ अकोतिर लोड सेडिङ् गरिरहनु पर्दैन ।

युरोप र अमेरिकामा प्रायः सबै अफिस, कार्यालय, संस्था, स्कुल र कलेज हप्तामा ५ दिन लाग्छन् । स्कुलका कुरा गर्दा २ दिन विद्यार्थीहरू अभिभावकका समिप बस्दा उसले स्कुलबाट दिएका प्रोजेक्ट वर्कहरू अभिभावककै निर्देशनमा गर्न सिक्छ । किताब रटाएर पढाएका कुराहरूलाई स–साना पारिवारिक तथा विद्यालयीय भ्रमणका आयोजना गरेर फिल्डमै लगी सिकाउन सकियो भने देखेर सिक्ने, छोएर सिक्ने र गरेर सिक्ने भन्ने कुराले मूर्तरूप लिन्छ । यो कुरा शिक्षकका नेता र तिनकासंघसंगठनले सोच्नु पर्ने हो । तिनीहरू त आफ्ना राजनीतिक पार्टीअनुसार समर्थन र विरोधका गीत गाउँछन् । यो हिजोदेखिकै चलन हो जुन गलत छ ।

देशलाई नयाँ युगमा प्रवेश गराउने हो भने, नयाँ अर्थतन्त्रको चक्रमा प्रवेश गराउने हो भने हामीले अब २ दिने विदा चक्रमा नहाम्फाली सुखै छैन । विरोध गर्नेले गर्दै गर्छन् । समयले यी सब कुरा आफैँ मिलाउँदै जान्छ । अब निजी क्षेत्र, संस्थागत क्षेत्र र सरकारी क्षेत्रमा नयाँ परिवर्तनका कुराहरू सदैव सोचेर पाइला चाल्नु पर्छ ।

जापानमा बिहानदेखि बेलुकीसम्मै अफिस सञ्चालन हुन्छन् । उनीहरू खाना र खाजा घरबाटै बोकेर लैजान्छन् । अझ केही संस्थामा त सानातिना कामहरू ठेक्कामा दिइएका हुन्छन् । काम गरुन्जेल जागिर खायो । सकेपछि हिसाब लियो गयो । हामी कहाँ बहिदारबाट पसेको मान्छे उस्तै प¥यो भने न्यायाधीश हुन्छ ।

कतिपय कमाउ अड्डामा त हाजिर गरेबापत तलब र काम गरेबापत घुस भन्ने संस्कारै चल्या छ । तराई तिरका अड्डामा त ‘दो बजे आगे हाकिम नही, उसका बाद मे भेट नही’ भन्ने आहान नै चल्या छ । टेबलमा टोपी छाडेर ससुरालीमा श्राद्ध खान हिँड्ने र हाजिर गरेर टाप कस्ने संस्कारमा बानी परेकाले यो २ दिने विदा र कार्यघन्टा बढाएको विरोध गरेका हुन् । अब कार्यालयमा एक दुईजना कर्मचारी राखेर बाँकी काम ठेक्कामा दिने गर्ने चलन चलाउने हो भने कर्मचारी प्रशासनमा खर्च भएको यति धेरै लेन्दी पैसा व्यापक कटौती गर्न सकिन्छ ।

२ दिने विदाले त्यतातिरका झार, घाँस र घैमलहरू पनि सफा गरोस् । अहिले जनता सिष्टम डेलिभरी चाहन्छन् । सकिन्छ भने घरबाटै सबै काम सकेर कागज प्रमाणित गर्न मात्र कार्यालय धाउन सकिन्छ । अमेरिकाका धेरै कार्यालयहरूमा यो अभ्यास सफल देखिएको छ । फेसन र नराम्रो संस्कृति सरक्क नक्कल गर्ने नेपाली सामन्ती मानसिकता यस्ता राम्रा प्रविधिहरू पनि सिकेर व्यवहारमा उतार्न सक्नु पर्छ । नयाँ पुस्ताले यो सक्छ भने पुरानाले बाटो छोड्दै जानु पर्छ ।

‘अझ सक्दा त देशको अर्थतन्त्रलाई चाँच्चाँडो चलायमान गरिराख्न पूरै बैङ्किङ् सिष्टममा गएर डिजिटल सिष्टममा नगई सुखै छैन । हरेक क्षेत्रमा एप्सबाट काम गर्ने हो । काम गरेको पारिश्रमिक हप्ता पन्ध्र दिनमा दिनैपर्ने अनिवार्य सिष्टम ल्याउने हो भने निजी, संघसंस्था र सरकारी सबै क्षेत्रले आर्थिकरुपमा फड्को नमार्ने कुरै हुँदैन ।’ अर्थका जानकारहरू भन्छन् ।

स्वास्थ्य क्षेत्रमा २ दिन विदा दिँदा बिरामीलाई गाह्रो पर्ने तर्क अहिले उठिराखेको छ । यसमा इमर्जेन्सी र वार्डका बिरामीको समस्या त्यति नआउने तर ओपिडी २ दिन बन्द हुँदा चाहिँ सामान्य बिरामीलाई मर्का पर्ने हुन्छ । अस्पताल आइतबार चलाउँदा सो दिनको पारिश्रमिक चिकित्सकहरूलाई दिनु पर्ने भएकाले थप व्ययभार थपिने कुरा पनि छ । यसलाई व्यवहारिक रुपमा प्रयोग गरेर पछि हेरफेर गर्न सकिन्छ । अन्य क्षेत्रमा यो लागू हुँदा ट्राफिक जाम समस्या कम हुनसक्छ ।

मुख्य कुरा देश आर्थिक रुपमा ओरालो लाग्दैछ भन्ने हो । आर्थिक रुपले दिवालिया भैसकेपछि रुनुको कुनै अर्थ रहँदैन । केही हप्ताअघि श्रीलंकामा वैदेशिक मुद्रा अभावले सिर्जिएको समस्याले विकराल रुप लिँदा कागज अभाव भई हाइस्कुले विद्यार्थीको परीक्षा रोकियो । त्यहाँ दूध र खाद्यान्न अचाक्ली महँगो भयो । घर, बाटो, पुल, पानीजहाज र बन्दरगाह खान नमिल्ने रहेछन् । कृषिसँगको नाता हामीकहाँ पनि तोडिँदै जाने हो भने एक दिन हामीले जलविद्युत्, पहाड, ताल, हिमाल र नदी खानु पर्ने बाध्यता आउन सक्छ ! सो दुर्दिनका लागि अहिले देखि नै होसियार बनौं भन्ने सल्लाह मात्र हो ।

कराएर मात्र हुन्छ कि आर्थिक तथ्याङ्क समेत हेर्नु पर्छ । अर्थतन्त्रको चक्र डरलाग्दो गरी उल्टो दिशामा गैरहेको छ । सानो तथ्याङ्क हेरौं एकपटक । चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन–चैत) सम्म आइपुग्दा व्यापार घाटाको आँकडा १३ खर्ब भन्दा माथि छ । भन्सार विभागको तथ्याङ्क अनुसार कूल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ ।

यो अवधिमा निर्यात भने १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बरारको मात्र भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ ।