
काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंबाहिर ९ स्थानमा कोरोनाभाइरसको परीक्षण सुरु भएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारदेखि धुलिखेल, भरतपुर र सोमबारदेखि भैरहवामा पनि परीक्षण सुरु भएको जानकारी दिए ।
यसअघि, धरान, जनकपुर, हेटौंडा, पोखरा, सुर्खेत र धनगढीबाट परीक्षण सुरु भइसकेको थियो ।
प्रवक्ता डा. देवकोटाले विदेशबाट आएका ९ हजार १६८ जना सरकारले तोकेको विभिन्न स्थानका ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिए ।
यस्तै, पछिल्लो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ६९७ जनाको स्वास्थ्य परीक्षण भएको र देशभर १०७ जना ‘आइसोलेसन’कक्षमा रहेको उनले जानकारी दिए ।
यस्तै, सातै प्रदेशमा नै कोरोनाभाइरस रोकथाम, पहिचान र उपचारका लागि ११औं तहका कर्मचारीहरुलाई समन्वयका लागि खटाइएको भन्दै प्रवक्ता देवकोटाले उनीहरुले जनशक्ति र उपचारबारे अनुगमन गरी तीन दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने बताए ।
प्रवक्ता देवकोटाले नर्भिक अस्पतालले एन–९५ मास्क दुई हजारथान, ४८ हजारथान सर्जिकल मास्क र एक हजारथान ‘पीपीई’ उपलब्ध गराएको र चैत महिनामा नेपालबाहिरबाट आइ काठमाडौंमा बस्दै आएकाहरुको स्वास्थ्य परीक्षण गरिने पनि जानकारी दिए ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्