सुदूरपश्चिम प्रदेशमा संक्रमित बढेकाले ‘लकडाउन’ थप सशक्त हुनेछ : मुख्यमन्त्री भट्ट (अन्तर्वार्ता) - Image Khabar
Everest Bank

सुदूरपश्चिम प्रदेशमा संक्रमित बढेकाले ‘लकडाउन’ थप सशक्त हुनेछ : मुख्यमन्त्री भट्ट (अन्तर्वार्ता)

धनगढी, चैत २४ । नेपालमा पुष्टि भएका ‘कोभिड–१९’ का नौ  संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन् ।

शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको रोकथाम र निगरानीमा चुनौती थपिएको छ ।

अहिलेसम्म विदेशबाट स्वदेश फर्किएकामा यो रोगको संक्रमण भएको देखिएकामा फर्किएका संक्रमित व्यक्तिमार्फत् धनगढीका ३४ वर्षीया एक महिलामा यो रोग सरेको देखिएको छ ।

संक्रमित व्यक्तिमार्फत् स्थानीयवासीमा कोरोना सरेको घटना यो नेपालमा पहिलो भएको चिकित्सकले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा संक्रमित बढ्दै गइरहेका बेला कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकारले के–कस्ता रणनीति अपनाएको छ, तयारी कस्तो छ भन्नेलगायत समसामायिक विषयमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँंग राससका लागि रासस सुदूरपश्चिम प्रदेशप्रमुख सिद्धराज भट्ट र प्रकाश मिश्रले आइतबार गरेको कुराकानीको अंशः

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलिन नदिन प्रदेश सरकार के–कस्तो रणनीति अपनाएर अघि बढिरहेको छ ?

कोरोना संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको तयारी गरिरहेको छ । यो भनेको क्वारेन्टाइन बनाउने र त्यहाँ मानिसलाई राख्ने, जाँच गर्ने कुरा हुन् । संक्रमितको उपचारको व्यवस्था मिलाउने कुरामा प्रदेश सरकार लागिपरेको छ । त्यसका साथै हामीले प्रदेशमा उपलब्ध नौओटै अस्पतालमा उपचारको व्यवस्था मिलाउने तयारी थालेका छौं । हामीले अब थप १५ ओटा भेन्टिलेटर स्थापना गर्ने निर्णय पनि गरेका छौं । जनतामा विश्वास कायम रहिरहने गरी हामी काम गरिरहेका छौं ।

केही दिनअघिसम्मको तथ्यांकमा भारतबाट सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल प्रवेश गरेका एक लाख ३४ हजारभन्दा बढी नेपालीमध्ये झन्डै दुई हजार ५००  मात्र हाल क्वारेन्टाइनमा बसेका छन् भन्ने छ । भित्रिने अरु व्यक्तिलाई क्वारेन्टाइनमा बस्ने व्यवस्थापन किन हुन सकेन ? यसबाट कत्तिको जोखिम हुन्छ ?

हामीले भारतबाट आउनेहरुलाई सिमानामा प्रारम्भिक जाँचपछिमात्र प्रवेश दिएको र उनीहरुको तथ्यांक राखेको अवस्था हो । यहाँबाट प्रारम्भिक जाँच भइसकेपछि उनीहरु कहाँ गए, के गरिरहेका छन् भन्ने सूचना र जानकारी स्थानीय तहमार्फत् प्रदेश सरकारले राखेको छ ।

शनिबारमात्र पोजेटिभ संक्रमण देखिएकाहरु क्वारेन्टाइनमै बसेका थिए । थप अरु व्यक्तिलाई पनि समस्या देखिए तुरुन्त उद्धार र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउने गरी काम गरिरहेको अवस्था हो ।

अब सबैलाई क्वारेन्टाइनमा राखेर सकिने अवस्था पनि नरहेका कारण होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उहाँहरु होम क्वारेन्टाइनमा बसेको/नबसेको भनेर प्रदेश सरकारले निगरानी गरिरहेको छ ।

कोरोनाको रोकथाम र निगरानीका लागि प्रदेशमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अवस्था के छ ? निजी मेडिकलहरुसंँग समन्वय कत्तिको गर्नुभएको छ ? सामान्य बिरामी भएको व्यक्तिले पनि यतिबेला सहजरुपमा उपचार नपाएको भन्ने गुनासो आउन थालेको छ नि ?

प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री केही दिनका लागि पुग्ने भएपनि लामो समयका लागि पर्याप्त नभएको अवस्था त हो । तर, आत्तिहाल्नु पर्दैन  किनभने केन्द्र सरकारले पनि थप केही स्वास्थ्य सामग्री ल्याइरहेको र प्रदेश सरकार आफैंले पनि तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ ।

हामीले केन्द्र सरकारलाई सुदूरपश्चिममा चारजना संक्रमित देखिसकेको हुनाले यस प्रदेशलाई केन्द्र बनाएर आवश्यक सामग्री र चिकित्सकको टोली पठाउनुपर्ने कुरा भनिसकेका छौं ।

हामीले निजी मेडिकलहरुलाई भनिसकेका छौं, कुनैपनि जनताले औषधि उपचार पाएनौं भनेर आउने स्थिति नदेखियोस् । यदि, त्यस्तो अवस्था आइहाल्यो भने हामी कडा कारबाही गर्न बाध्य हुनेछौं । निजी मेडिकल सञ्चालकहरुले पनि यस संकटको बेला स्वास्थ्य सेवा दिने काममा पछि नहट्ने प्रतिबद्धता गर्नुभएको छ ।

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु सुरक्षाको पहिलो घेरामा हुन्छन् । उहाँहरुले प्रयोग गर्ने उपकरणलगायत स्वास्थ्य सामग्री प्रदेशमा पर्याप्त छन् ?

हामीसँग केही दिनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । तर, पर्याप्त छैनन् । यो संकट निश्चित भूगोल र देशमा मात्र निम्तिएको होइन । तसर्थ सचेत हुँदै प्रदेश सरकार लागिरहेको छ । अहिले हामीसँग सामान्यरुपमा आवश्यक पर्ने ह्यान्ड स्यानिटाइजर, पीपीई, सर्जिकल मास्कलगायतका अति आवश्यक स्वास्थ्य सामग्रीको पर्याप्तता धेरै छैन । तर, हुँदै नभएको पनि हैन ।

जारी लकडाउनको समय लम्बिँदा खाद्यान्नलगायत तरकारी ढुवानीमा समस्या आइरहेको भन्ने जनगुनासो बढेको छ । यसले गर्दा मानिसले पैसा भएरपनि सहजरुपमा खाद्यान्न किन्न पाइरहेका छैनन् । यो समस्या समाधानका लागि के–कस्तो प्रयासमा हुनुहुन्छ ?

तपाइँले भनेको एउटा कुरामा म असहमति जनाउँछु । मानिसले पैसा भएर पनि नियमित किन्ने ठाउँबाट किन्न नपाएका हुन् । तर, किन्न नै नपाएका भने होइनन् । खाद्यान्न, तरकारी तथा फलफूलको ढुवानी सुदूरपश्चिम प्रदेशमा पर्याप्त रहेको र ढुवानीमा समस्या नभएको स्पष्ट पार्छु । अर्को कुरो, यस संवेदनशील अवस्थामा औषधि, खाद्यान्न, तरकारी, फलफूललगायत अति आवश्यक सामग्री खरिदको नाममा भीडभाड गर्ने र  लकडाउनको पालना नगर्नेलाई भने कारबाही गरिनेछ ।

लकडाउनको प्रभावकारी कार्यान्वयनमा समस्या आइरहेको भन्ने एकथरीको भनाइ छ । थप व्यवस्थित बनाउन प्रदेश सरकारको भूमिका के हुन्छ  ?

लकडाउनको सुरुआती समयमा केही खुकुलो भएपनि हाल कडाइका साथ अघि बढेको छ । सुदूरपश्चिमभरि लकडाउनको उल्लंघन गर्ने सयौं सवारी–साधन कारबाहीमा परेका छन् । अब प्रदेशमा संक्रमित बढेको अवस्थामा लकडाउन थप सशक्त हुनेछ ।

लकडाउनका समयमा कतियय ठाउँमा कालोबजारी बढेको भन्ने जनगुनासो पनि सुनिन थालेको छ । कालोबजारी रोक्न प्रदेश सरकारले के गरिरहेको छ ?

संकटको बेला कसैले कसैलाई समस्यामा पार्नुहुँदैन र महामारीको गलत फाइदा कसैले पनि लिनुहुँदैन भन्ने कुराको चेतना हुँदाहुँदै पनि यस किसिमको गलत काम गर्नेहरुमाथि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुनेछ ।

यदि, कसैले महामारीको बेला कालोबजारी गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही हामी गर्नेछौं । यसका लागि हामीले अनुगमन टिम पनि बनाएका छौं । अनुगमनका क्रममा कालोबजारी गरेको पाइएमा वा उपभोक्ताको गुनासो आए हामी सम्बन्धितलाई कारबाही गर्नेछौं ।

अहिले अव्यवस्थितरुपमा भीड जम्मा गरेर राहत वितरण भइरहेको छ । यसले गर्दा कोरोनाको संक्रमण अझै बढ्ने चिन्ता स्वास्थ्यकर्मीले गरिरहेका छन् । यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

हेर्नोस्, मानिसहरु सामान्य समयजसरी राहत वितरण गर्ने, तस्वीर लिने अनि प्रचार गर्ने काममा लागेका छन् । यसो गर्दा जोखिम बढ्ने सम्भावना निकै बढी हुन्छ । त्यसैले हामीले आइतबारदेखि अव्यवस्थितरुपमा विभिन्न नाममा वितरण गरिँदै आएका राहत वितरणमा रोक लगाएका छौं । मानिसहरुले संवेदनशीलतालाई बुझिदिनुपर्‍यो । यदि, कसैलाई सहयोग गर्ने इच्छा–चाहना भए देशमा तीन तहका सरकार छन् । कुनैपनि सरकारसँग समन्वय गरेर वितरण गर्न सकिनेछ । हैन भने कुनै सामाजिक दूरी कायम नगरी भीडभाड गरेर राहत वितरण गर्न पाइने छैन ।

संक्रमण फैलिन नदिनका लागि संक्रमितको ‘कन्टयाक ट्रयाकिङ’ गर्ने कुरामा सरकार असफल भएका कारण समस्या देखिएको भन्ने जनगुनासो छ नि ?

त्यस्तो हैन । हामीले धनगढीमा खासगरी दुबईबाट आएका व्यक्तिलाई संक्रमण देखिसकेपछि उहाँहरुको सम्पर्कमा आएका व्यक्तिलाई ‘ट्रयाकिङ’ गरेका छौं । हामी यस विषयमा गम्भीर नै छौं । हामीले तेस्रो मुलुकमात्र हैन, भारतबाट आएकालाई समेत ट्रयाकिङ गरेका छौं । सरकारले केही गरेन, सरकार हरायो भन्नु भनेको विरोधका लागि विरोधमात्र हो । विरोध गर्नेहरु गरिहन्छन्, हामी आफ्नो काममा लागिरहन्छौं ।

अन्त्यमा, यस संकटको घडीमा प्रदेशका जनतालाई के भन्न चाहनुहुन्छ ?

सरकारले जुन लकडाउन गरेको छ, त्यसलाई सफल बनाउन म पहिले सबैलाई आग्रह गर्न चाहन्छु । यो कसैले निम्ताइदिएको समस्या होइन र सामान्य अवस्था पनि होइन । त्यसैले गम्भीरताका साथ लिइदिनहुन म हार्दिक अनुरोध गर्न चाहन्छु । अर्को कुरा, सुदूरपश्चिममा चारजना संक्रमित देखिइसकेपछि सबैले अझ बढी सतर्क रहन जरुरी छ । यदि, परिवारका कोही सदस्य बाहिरबाट आएका छन् भने केही दिन टाढा नै बस्नु उपयुक्त हुन्छ । म सम्पूर्ण सुदूरपश्चिमवासी जनतालाई सुरक्षित भइ होम क्वारेन्टाइनमा बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस्