बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित « Imagekhabar – Online News Portal of Nepal


बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित


1.846k
Shares

पाल्पा । पाल्पाकाे बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित भएकाे छ ।

पालिका प्रमुखदेखि वडा अध्यक्षसम्म महिलाको उम्मेदवारी अत्यन्तै कम परिरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाले भने यस पटक स्थानीयतह निर्वाचन २०७९ बाट महिला प्रमुख पाउने सुनिश्चित भएको हाे ।

पाल्पामा पहिलो पटक पालिकाको नेतृत्व महिलाले गर्ने भएका छन । नेकपा एमाले पाल्पाले बगनासकाली गाउँपालिकामा निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसकी सचिव सुनिता अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

दुई मुख्य दलसँगै पालिकाको अध्यक्ष पदमा पत्रकार अम्बिका पाण्डे र जनता समाजवादीकी मिना कुमारी गाँहाले उम्मेदवारी दिई चुनावी प्रचार अभियानामा जुटेका छन । तर मुख्य प्रतिस्पर्धा भने एमालेकी उम्मेदवार चिदी र गठबन्धनकी उम्मेदवार अधिकारीबीच देखिएको छ ।

अध्यक्षका उम्मेदवार चिदीको टोलीेले ५ वर्षे घोषणापत्र बनाएर चुनावी अभियानमा खटिएका छन । अध्यक्ष चिदीले ५ वर्षसम्म पालिकाको उपाध्यक्ष भई काम गरेको अनुभव र अपूरो रहेका काम पूरागरि सुखी जनता र सम्वृद्ध बगनासकाली निर्माणका लागि जनतासँग मत माग्दै आउनुभएको छ ।

विद्यार्थी राजनीतिबाट पाटी राजनीति गर्दै जनप्रतिनिधिमा होमिएकी गठबन्धनकी साझा उम्मेदवार सुनिता अधिकारी पनि आफ्नो पक्षमा चुनावी माहोल बनाउन जनताको घरदैलो अभियानामा जुट्नुभएको छ । बगनासकालीमा गठबन्धन दलका उम्मेदवारहरुले एउटै घोषणापत्र तथा कार्यक्रम लिएर जनतामाझ पुगेका छन । अध्यक्ष पदकी उम्मेदवार अधिकारीले बगनासकालीको दिगो विकास, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पशुपालन तथा सिँचाइ समाधानका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासँग अपिल गर्नुभएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको समर्थनमा नेपाली काग्रेसका कृष्ण प्रसाद बस्यालले ५ हजार ५ सय ९४ मत ल्याई विजयी भएका थिए भने नेकपा एमालेका देवी बस्यालले ५ हजार ३ सय ४६ मत ल्याई उपविजेता बनेकाथिए ।

बगनासकाली गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा ९ हजार ५ सय ५ पुरुष, १० हजार ३ सय ३४ महिला गरी १९ हजार ८ सय ३९ मतदाता रहेका छन। पालिकाभित्र ११ मतदान स्थलको २२ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।