४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


भारत अतिक्रमित सुस्ताका २ केन्द्रमा ५ सयभन्दा कम मतदाता


429
Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका २ मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेका छन् ।

कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । त्यहाँ २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै कम मतदाता रहेको अर्को केन्द्रमा सोही वडाको जनता दलित आधारभूत विद्यालय छ । त्यहाँ ३ सय ३० मतदाता छन् । डुंगाबाट नारायणी नदी पार गरेर जानुपर्ने यो केन्द्रमा भारतीय पक्षले पटक–पटक अतिक्रमण गर्ने गरेको क्षेत्र हो ।

सुस्ता गाउँपालिकामा कुल २३ हजार ९ सय ५९ मतदाता छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् ।

कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेको जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि १४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी रहने छन् । ५ सयभन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी रहने छन् ।

खटाइएका कर्मचारीहरू बैशाख २८ गतेसम्म सम्बन्धित केन्द्रमा निर्वाचन सामाग्री लिएर पुगिसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।