२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


कोरोना संक्रमित युवा लकडाउनपछि गौरीफन्टा नाकामा भीडमा उत्रिएर नाराबाजी गर्दै थिए !


0
Shares

कैलाली । लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो ।

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँमा पठाएका यात्रुहरुमा उनी पनि रहेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्यमा पठाएको थियो ।

११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो ।

नमुना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुर्‍याइएको हो ।

तर गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जनामध्ये अधिकांश घर फर्किसकेका छन् भने धेरै कमलाई मात्र अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ३४ वर्षीय युवकको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ नै आएको छ ।

सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले उनको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको जानकारी दिए ।

उनी दुबईबाट फर्केका हुन् । चैत २२ गते उनकी भाउजुलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।