Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


आचारसंहिताका सबै बुँदा पूर्ण पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह


117
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्ण पालना गर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृश्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दृश्यहरू निर्वाचन आचारसंहिता विपरीतका भए त्यसले आम मतदाताहरूमा नकारात्मक असर पर्नेतर्फ पनि सञ्चार माध्यामहरूलाई सचेत गराउनुभयो ।

निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आशंका गर्ने ठाउँ नै नरहेको तर्क समेत गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रूपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।