Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


बालेनबारे बाेल्ने स्थापितमाथि कांग्रेस नेताको टिप्पणी– ‘उनले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए’


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्‍याएको बताउनुभएको छ ।

महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उहाँले स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आपत्ति जनाउनुभएको हो ।

‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्‍याउनुभएको छ,’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नुभएको हो, महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ ।’

स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उहाँको टिप्पणी छ। हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने नेता पौडेलको भनाइ छ।

‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरी सुनिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेरः एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो ।’

नेता पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनित मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराउनुभएको छ ।

‘रहयो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रूपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नुभएको हो । शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नुभएको हो,’ उहाँले लेख्नुभएको छ, ‘त्यतिले नपुगेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नुभएको हो ।’