
बारा । बारामा स्थानीय तहमा जनप्रतिनिधिले विकासको नाममा गरेको बेथितिले नागरिक दिक्क भएका छन।
यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भने उनीहरु विकासप्रेमी अनुहारको खोजीमा रहेकाे बताएका छन । मधेस प्रदेशअन्तर्गत बारा जिल्लामा पनि दलहरुका गतिविधि निर्वाचनमा केन्द्रित भएका छन । दुई उपमहानगरसहित १६ वटा स्थानीय तह रहेका जिल्लामा सत्ता गठबन्धन र विपक्षी दलले परिणाम आफ्नो पक्षमा पार्न ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ ।
मनोनयन दर्ता भएदेखि नै बारा जिल्लाको चुनावी सरगर्मी बढेको छ । जिल्लाका केही वडाबाहेक सबै स्थानीय तहमा गठबन्धनले साझा उम्मेदवार उठाएको छ भने एमालेलगायत केही दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । स्थानीय तहमा जनप्रतिनिधिले विकासको नाममा गरेको बेथितिबाट दिक्क बनेका सर्वसाधारण यस पटकको निर्वाचनमा भने विकासप्रेमी अनुहारको खोजीमा छन ।
जिल्लामा दलहरुबीच आन्तरिक र विभिन्न पक्षबीच कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी एमालेलाई भने समस्या परेको छ । केन्द्रीय नेतृत्व र प्रदेश कमिटीको बलमा उम्मेदवार चयन भएपछि एमालेमा आन्तरिक असन्तुष्टि बढेको छ । अघिल्लो निर्वाचनमा एमालेले मेयर जितेको जितपुर सिमरा उपमहागरमा मनोनयन दर्ताकै दिन केन्द्रको निर्णय नमान्ने भन्दै मेयर उम्मेदवार सरस्वती चौधरी र उपमेयर भोला अधिकारीको नाम फेरबदल गर्ने प्रयास भएपछि जिल्ला तहका नेता कार्यकर्ताबीच मनमुटाव समेत सुरु भएको थियो ।
सत्ता गठबन्धनले पनि जितपुर सिमरा उपमहानगरपालिकाबाट राजन पौडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै कलैया उपमहानगरपलिकाबाट गठबन्धनले राजेश राय यादव, एमालेले विनोद साह र जनता समाजवादीको तर्फबाट प्रमोद गुप्तालाई उम्मेदवार बनाएको छ । गठबन्धनका दल र एमालेबीचमा बढी प्रतिस्पर्धा हुने देखिएको जिल्लामा दुवै दलहरुले आफ्नो जित निश्चित भएको दावी गर्दै आएका छन। दलहरुले यस पटक पनि जिल्लामा पुरानै नारा लिएर मतदातालाई आफ्नो पक्षमा पार्न व्यस्त देखिएका छन।
७ लाख ४३ हजार ९ सय ७५ जनसंख्या रहेको जिल्लामा ४ लाख २३ हजार ३ सय २७ मतदाता रहेका छन । जिल्लामा कुल १६ पालिका र १ सय ६७ वटा वडा रहेका छन। २ उपमहानगर पालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेका छन। जिल्लाकै ठूलो श्रोत साधन मानिने जितपुर सिमरा उपमहानगर र कोहल्बी नगरपालिका दुई तह मात्र अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो । कलैया उपमहानगर, निजगढ नगरपालिकासहित ५ स्थानीय तह नेपाली कांग्रेसले जित हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्