नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु « Imagekhabar – Online News Portal of Nepal


नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु


2.093k
Shares

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ ।

भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा आफ्नो शसक्त उपस्थितिको प्रयास गरेको हो । नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको हो ।एसिया र प्रशान्त क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ ।

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मेन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ ।११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिनेछ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका प्रवन्ध निर्देशक तथा भारतमा बोस ग्रुपका अध्यक्ष सौमित्र भट्टाचार्यले अत्याधुनिक र विशिष्ट रुपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेको बताउनुभयो । उहाँले प्राप्त निरन्तर सहयोगका लागि नेपाल सरकारलाइ धन्यवाद समेत दिनुभयो । नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षामा रहेको भट्टचार्यको भनाई थियो ।

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको छ