१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


चमतीकी सलिना महर्जनलाई मिस नेवाःको ताज


728
Shares

काठमाडौं । काठमाडौं चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् ।

नेप्लीज फेसन होमद्वारा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिनाले मिस नेवाः नेपालको ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा मूख्य निर्णायक पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुनु जरुरी छ ? भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डलको मन जित्न सफल भएकी हुन् ।

महर्जनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रूपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रूपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन् । सलिनाले मूख्य उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन् ।

प्रतियोगितामा ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनरअप भए ।