२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


यस वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा कम कार्बनडाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकको अनुमान


0
Shares

एजेन्सी, चैत्र २१ । कोरोना भाइरसले मानव जगतलाई हायलकायल पारिरहँदा यसले पृथ्वीलाई भने राहत हुने खबर आएको छ । मुख्यगरी जलवायु परिवर्तन र वातावरणका पक्षमा भने निकै नै सुधार आउने जनाइएको हो ।

कार्बन डाइअक्साइड उत्सर्जनबारे बेन्चमार्क डाटा उपलब्ध गराउने वैज्ञानिकहरुको सञ्जालका अध्यक्षले कोरोना भाइरसको प्रकोपका कारण आर्थिक गतिविधिमा आएको शिथिलतासँगै यस वर्ष दोस्रो विश्वयुद्धपछि कार्बन डाइअक्साइड उत्सर्जनमा सबैभन्दा कमी आउने बताएका हुन् ।

ग्लोबल कार्बन परियोजनाका अध्यक्ष रब ज्याक्सनले वर्षदेखि वर्षको हिसाब गर्दा करिब ५ प्रतिशतले घट्न सक्ने बताएका हुन् । यो २००८ को आर्थिक संकटको समयमा घटेको १ दशमलव ४ प्रतिशतका कमीपछिको धेरै हो ।

स्टानफोर्ड यूनिभर्सिटी क्यालिफोर्नियाका अर्थ सिष्टम साइन्सका प्राध्यापक जाक्सनले कार्बन उत्सर्जनमा यस वर्ष ५ वा त्योभन्दा बढी प्रतिशतसम्मको गिरावट आउँदा आफु आश्चर्यमा नपर्ने र दोस्रो विश्वयुद्धपछि आफुले यस्तो नदेखेको बताएको रोयटर्सले जनाएको छ ।

आफूले सोभियत संघको विघटनमा या ५० वर्षको अन्तरालमा तेल तथा अन्य वित्तीय संकटका समयमा यसरी उत्सर्जन प्रभावित भएको नदेखेको उनको भनाइ छ ।

यसअघि वैज्ञानिकहरुले जलवायु परिवर्तनले पार्ने सबैभन्दा खराब प्रभावबाट बच्न सन् २०२० सम्ममा विश्वस्तरमा उत्सर्जन कसैगरी पनि कम गर्नुपर्ने चेतावनी दिएका थिए । जुन यो संकटका बीचको राम्रो खबर मान्न सकिने रोयटर्सले जनाएको छ । तर सुधार खराब कारणबाट पाइएको पनि उसले जनाएको छ ।