
नृपराज हमाल/ईमेज:
हुम्ला, असार २ । हुम्लामा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको तथ्यांक प्राप्त भएको छ ।
जथाभावी गर्भपतनले अत्याधिक रक्तश्रावका बिरामी बढी मात्रामा अस्पताल भर्ना हुन आउने गरेका छन् ।
जथाभावी गर्भपतनका कारण अत्याधिक रक्तश्राव भएर जेठ महिनामा मात्रै ५ जना महिला जिल्ला अस्पतालमा थप उपचारका लागि आएको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला अस्पतालमा १२ हप्तासम्मकोलाई सुरक्षित गर्भपतन गराउने सुविधा भएपनि अस्पताल नआई बाहिर मेडिकलबाट औषधी लिएर खाने साथै तीन महिना नाघि सकेकालाई पनि मेडिकलहरुले औषधी खुवाएका कारण अत्याधिक रक्तश्राव भएपछि मात्र जिल्ला अस्पतालमा आउने गरेको जिल्ला अस्पताल हुम्लाका दिल साही रोकाले बताए ।
जिल्ला अस्पताल, हुम्लाले औषधि र मेसिनद्वारा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेको भएपनि असुरक्षित गर्भपतन घट्न सकेको छैन ।
अझै पनि अधिकांश महिला असुरक्षित गर्भपतन गराइरहेको जिल्ला अस्पताल, हुम्लाका डा। दिल साही रोकाले बताए ।
जथाभावी औषधि विक्रीका कारण सबैभन्दा बढी ग्रामिण भेगका महिला र किशोरीहरू मारमा परिरहेका छन् ।
सिमकोट गाउँपालिका वडा नं २ ठेहेकी एक महिला असुरक्षित गर्भपतन गराएका कारण अत्याधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी छन् ।
५ सन्तानकी आमा बनिसकेकी उनले परिवार नियोजनका साधन प्रयोग नगरेका कारण गर्भ रहेपछि पतिसंग सल्लाह गरेर बजारबाट औषधी किनेर खाईन् तर गर्भपतन नभए पछि पुनःऔषधी खाएर गर्भपतन गराएको उनी बताउँछिन् ।
दुई पटक मेडिकलबाट औषधी खाएर गर्भपतन गराएकी उनको अत्याधिक रक्तश्राव भएपछि मात्र जिल्ला अस्पतालमा आएर उपचार गराई रहेकी छन् ।
मेडिकलहरुमा गर्भपतनका अवैध औषधि छ्याप्छ्याप्ती पाइन्छन् । सुरक्षित गर्भपतन सेवाको कानुनी प्रावधान अनुसार यस्ता औषधिको कारोबार गर्नेले सुरक्षित गर्भपतन सेवाको प्रमाणपत्र लिनुपर्ने भएपनि हुम्लाका मेडिकलहरुले अनुमति बिना नैं यस्ता औषधी बिक्रि गरिरहेका छन् ।
अरूले थाहा पाउलान् भन्ने डरका कारण कतिपयले लुकिछिपी आफैं मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउने भेटिएको छ । यसले उनीहरू जोखिममा परेका छन् जिल्ला अस्पताल प्रमुख डा। रोका बताउँछन् ।
जिल्लामा गर्भपतन गर्ने मेडिकल दर्ता नै नभएका, गुणस्तर नजाँचिएका औषधि सर्वसुलभ भएकै कारण पछिल्लो समय असुरक्षित गर्भपतन गर्नेको संख्या बढिरहेको जिल्ला अस्पताल प्रमुख डा.रञ्जित कुमार यादवले बताए ।
विशेषज्ञको सल्लाहबिना प्रयोग गरिएका जथाभावी औषधि सेवनले पाठेघरमा प्वाल पार्ने, पिसाब नली फुट्ने र निःसन्तान हुने जस्ता समस्या निम्त्याउन सक्ने डा। यादव बताउँछन् ।
औषधि खाएर घरमै बसी गर्भपतन गराउन मिल्ने, गोप्यता कायम हुने हुँदा आफैं औषधि किन्दै खाँदै गरेको देखिन्छ तर यसले महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्छ, उनले भने ।
गर्भपतन आफैंमा जटिल प्रक्रिया भएकाले सकेसम्म यस्तो अवस्था आउन नदिन र असुरक्षित गर्भपतन रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने डा. यादव बताउँछन् ।
मुलुकी ऐनले सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार मानेको छ । १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा गर्भपतन गर्न कानुनले मान्यता दिएको छ ।
महिलाको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यवस्था छ ।
कानुन र अधिकारबारे थाहा नपाएका ग्रामीणभेगका महिलाहरु भने अझै जथाभावी औषधि सेवनकै कारण असुरक्षित गर्भपतन गराइरहेको डा. यादवले बताए ।
लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानूनी व्यबस्था छ ।
गर्भपतन गराउँदा महिलामा रक्तअल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने लगाएतका समस्या आउने हुँदा सकेसम्म गर्भ रहन नदिनको लागि परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग गर्नुपर्ने चिकित्सक बताउछन् ।
प्रतिक्रिया दिनुहोस्