१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


ललितपुरको महालक्ष्मीमा प्रमुख र उपप्रमुख पदमा माओवादी र कांग्रेसबीचमात्रै सहमति


2.665k
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच मात्रै तालमेल भएको जनाएको छ ।

कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रका शिव कट्टेल र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन आधिकारिक उम्मेदवार भएको जनाएको छ ।

कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले महालक्ष्मीमा कांग्रेस र माओवादीबीच मात्रै तालमेल भएको र सोही अनुसार उम्मेदवारले मनोनयन दर्ता गराइसकेका जानकारी इमेजखबरलाई दिनुभयो । उहाँले वडाहरुमा अरु दललाई कहाँ कसरी मिलाएर लैजान सकिन्छ भन्ने विषयमा भने छलफल भइरहेको पनि बताउनुभयो ।

यसैगरी, कांग्रेस ललितपुरले ललितपुरका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादीबीच तालमेल हुने निर्णय भएको जनाएको छ । ललितपुर कांग्रेसले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा सामेल दलहरुको पाँच दलीय जिल्ला संयन्त्रको निर्णय विपरित कांग्रेस र माओवादीसँग समन्वय नगरी नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएकोप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसले ललितपुरका धेरै जसो स्थानीय तहका सहमति भएका वडाहरुमा भने सत्ता गठबन्धनमा सहभागी दलहरु संयुक्त रुपमा अगाडि बढ्नु पर्ने र सहमति नभएका वडाहरुमा मित्रवत रुपमा प्रतिस्पर्धामा जानु पर्नेबाहेक विकल्प नभएको पनि जनाएको छ । तर, ललितपुरका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा भने कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन भएको ललितपुर कांग्रेसले स्पष्ट पारेको छ ।

विज्ञप्ति :