
सिन्धुली । सिन्धुलीमा लकडाउनको उच्च पालना सहित विशेष सतर्कता अपनाइएको छ ।
जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा कडा गरिएको छ भने सिन्धुलीमाडीलगायत प्रमुख बजारहरुमा खाद्यान्न पसलहरु बाहेक सबै व्यापार व्यवसाय बन्द गरिएको छ ।
जिल्लामा १७९ वेडको क्वारेन्टाइन र ३३ वेडको आईसोलेसन वार्ड स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले जानकारी दिइन् ।
सिन्धुलीमा नौ वटा पालिकाहरु रहेका छन् । नौ वटा पालिकाहरु सबैमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।
अहिले भारतलगायत विभिन्न मुलुकबाट आएका १ सय ७६ जनालाई होम क्वारेण्टाईनमा राखिएको प्रसाइले जानकारी दिइन् ।
केही स्थानीय तहले कोरोनाका शंकास्पद विरामी बोकेर लैजादा अपनाउनुपर्ने सावधानी, पीपीई प्रयोग गर्ने तरिकाबारे जानकारी गराउदै एम्बुलेन्स चालकहरुलाई पीपीई सेट वितरण र उनीहरुको बिमा गर्ने निर्णय गरेका छन् ।
जिल्ल्लामा रहेका ४१ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । खाद्यन्न व्यवस्थापनका लागि स्थानीय तहहरुलाई नै जिम्मेवार बनाइएको प्रसाईले जानकारी दिइन् ।
औषधी र आवश्यक स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामाग्री सबै स्थानीय तहमा पुर्यातापनि जिल्लामा ज्वरो नाप्ने थर्मोमिटरको भने अभाव रहेको प्रसाईले बताइन् ।
प्रतिक्रिया दिनुहोस्