
झापा । कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।
धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौं पठाइएको थियो ।
दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।
कोरोना पुष्टि नभएका दुवैलाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् ।
अस्पतालमा इमजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ ।
दिनहुँ २८ जनाभन्दा बढी ज्वरो आएका र रुघा लागेका विरामी अस्पतालको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले बताए ।
अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ)को अभाव रहेको छ । शुरुमा ५० वटा पीपीई प्राप्त भएकोमा आधाजसो प्रयोगमा आइसकेको छ ।
झापाको १५ स्थानीय तहमा कोरोना रोकथामका लागि ३ सय ९५ शैया क्षमताका २० वटा क्वारेन्टाइन चालू अवस्थामा छन् ।
क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने दुई जना कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसकेपछि होम क्वारेन्टाइनमा गइसकेका छन् ।
यता मेचीनगर नगरपालिकामा विपन्न समुदायलाई भोकमरीबाट जोगाउन प्रमुख राजनीतिक दल, पत्रकार र व्यवसायी मिलेर फुड बैंक स्थापना गरेका छन् ।
महाभूकम्पका बेला राहत प्रदान गर्न बनेको ‘मेची अभियान’ नामक संस्थामार्फत नै कोभिड–१९ को संक्रमणका बेला फुड बैंक स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्