Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


देउवाले भने, सरकारी राहत सकारात्मक, तर अपर्याप्त


0
Shares

काठमाडौं, चैत्र १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको राहत प्याकेज सकारात्मक भए पनि पर्याप्त नभएको टिप्पणी गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मंगलबार विज्ञप्ति निकाली थप राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

देउवाले भनेका छन्, ‘आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनि यो पर्याप्त छैन । ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले व्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनुपर्छ ।’

२० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीहरुको तीन महिनाको ब्याज मिनाहा गर्न माग गरेका छन् । बेरोजगार र अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई पनि राहत दिन उनले माग गरेका छन् ।

उनले भनेका छन्, “लकडाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले विज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ । परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर बेहोर्नुपर्नेछ । अतः राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई आग्रह गर्छु ।”

उनले भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारि सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न आग्रह गरेका छन् ।

ज्यालादारी श्रमिकलाई राहत पुर्याउने फास्ट ट्रयाक विधि निर्माण गर्नुपर्ने उनको मत छ ।