
काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोनाको परीक्षणमा विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएका ‘र्यापिड टेस्ट किट’ प्रयोग नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहाकार डा. खेम कार्कीले मापदन्डभन्दा बाहिरका र्यापिट टेस्ट किट प्रयोग नगर्न आग्रह गरे ।
उनले सरकारले उपलब्ध गराएका ‘पीपीई’ मापदन्डअनुसार नै प्रयोग गर्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई आग्रह गरे ।
पीपीईको दुरुपयोग भयो भने महामारीको समयमा अभाव हुन सक्छ भन्दै डा. कार्कीले ज्वरोका बिरामीहरुलाई अस्पाताल लैजाँदा एम्बुलेन्स चालकहरुले पनि ‘सर्जिकल मास्क’ र गाउन लगाउन आग्रह गरे ।
कोरोना संक्रमण देखिएन
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराबाट कोरोनाभाइरसको परीक्षण सुरु भएको भन्दै चाँडै नै धनगढी, जनकपुर र बुटवलमा पनि परीक्षण सुरु गरिने जानकारी दिए ।
सोमबार वीर र पाटन अस्पतालमा मृत्यु भएका तीनजनामा कोरोनाभाइरसको संक्रमण नदेखिएको भन्दै उनले कोरोना संक्रमित चारजनामध्ये दुईजनाको परिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण भइसकेको र बाँकी दुईजनाको सम्पर्कमा आएका व्यक्तिहरुकोसमेत परीक्षण भइरहेको जानकारी दिए ।
यस्तै, प्रत्येक प्रदेशमा एक हजार ३०० देखि दुई हजार ५०० सम्म पीपीई पठाइसकेको र मन्त्रालयमा पनि पीपीईको एथेष्ट मौज्दात रहेको प्रवक्ता डा. देवकोटाले बताए ।
हालसम्म एक हजार ६० जनाको स्वास्थ्य परीक्षण भएको र टेकु अस्पतालमा १० र प्रदेशहरुमा ७७ जना ‘आइसोलेसन’ कक्षमा रहेको पनि उनले जानकारी दिए ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्