Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


दुई दिन उम्मेदवारी मनोनयनको समय तोक्नु षडयन्त्र हो : अध्यक्ष नेपाल


8.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी मनोनयनको समयसीमा राख्नुमा षडयन्त्रको आशंका जनाउनुभएको छ ।

निर्वाचन आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयको समय तोकिएकोमा आंशका व्यक्त गर्दै उहाँले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा (एस)ले पाउनुपर्ने दाबी गर्नुभयो ।

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’

अध्यक्ष नेपालले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान्, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउँला भनेर सोचेका होलान !’

तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दाबी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी गर्नुभयो ।

‘आफूले मात्र तिकडम जानेको सोचेका होलान्, अरुले पनि जान्दछन् । तर, ती तिकडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भन्नुभयो, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’