
काठमाडौं, चैत १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ ।
सोमबार मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको स्वास्थ्य अवस्था र ‘क्वारेन्टाइन’मा बसे/नबसेको जानकारी राख्न लिखित विवरण संकलन गरिएको जानकारी दिए ।
यस्तै, कोरोनाभाइरस संक्रमतिहरुका परिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुकोसमेत स्वास्थ्य परीक्षण भइरहेको र केहीमा संक्रमण नदेखिएको पनि उनले जानकारी दिए ।
उनले चारओटा प्रदेशमा एक हजारथान ‘पीपीई’, १० हजार ‘मास्क’ र २० हजार ‘ग्लोभ्स’ पठाइएको र चीनबाट ल्याइएको ‘पीसीआर मेसिन’ धनगडी, सुर्खेत, बुटवल र जनकपुरमा राखिएको भन्दै किट र मेसिन गुणस्तरीय रहेको दाबी पनि गरे ।
हाल टेकु अस्पतालमा चार र पाटनमा छजना ‘आइसोलेसन वार्ड’मा रहेको र प्रदेशहरुमा ९३ जना आइसोलसनकक्षमा रहेको डा. देवकोटाले जानकारी दिए ।
यस्तै, विभिन्न प्रदेशमा २१७ जनाको नमुना संकलन गरिएको पनि उनले जानकारी दिए ।
वीर अस्पतालमा दुई र पाटन अस्पतालमा एकजना ज्वरोका बिरामीको मृत्यु भएको र उनीहरुको स्वाब परीक्षणका लागि टेकु पठाएको पनि उनले जानकारी दिए ।
वीरमा मृत्यु भएकामध्ये एकजनामा उच्च रक्तचापसँगै ज्वरो रहेको र अर्का भारतीय नागरिकमा पनि उच्च ज्वरो रहेको जानकारी उनले दिए ।
त्यसक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले अस्पतालमा मर्नेवित्तिकै कोरोनाले मरेको भन्दै गलत हल्ला नफैलाउन आग्रह गरे ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्