स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंग्याइँदै, शक्ति र लेनदेनको आडमा टिकट नदिन कार्यकर्ताको सुझाव « Imagekhabar – Online News Portal of Nepal


स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंग्याइँदै, शक्ति र लेनदेनको आडमा टिकट नदिन कार्यकर्ताको सुझाव


780
Shares

नवलपरासी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ । तर, पश्चिम नवलपरासीका राजनीतिक दलहरू भने उमेदवार चयनमै रुमलिएका छन् ।

जिल्लामा ७ स्थानीय तह छन् । गठबन्धन दलले २ पालिकामा मेयर र उपमेयरसहितका पदमा गठबन्धन गरेका छन् ।गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) भने जिल्लामा एक्लै चुनावमा जाने गरी उमेदवारी छनौट गरिरहेको छ ।

एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर १ पालिकामा गठबन्धन गरेको छ । साना दलहरु भने एक्लाएक्लै चुनावमा जाने गरी तयारी थालेका छन् । ठूला राजनीतिक दलसँगै साना दलहरुले समेत नाम टुंगाउन नसकिरहेका बेला कार्यकर्ताहरुले आर्थिक पहुँचका आधारमा टिकट नदिन राजनीतिक दललाई सुझाव दिएका छन् ।

सबैजसो पालिकामा अहिले पनि जितेका जनप्रतिनिधिहरू आकांक्षी देखिएका छन् । जसका कारण दलहरूलाई उमेदवार छनोट गर्न सकस देखिएको हो । प्रमुख पदका आकांक्षीमा पैसावाला अनुहार बढी रहेको कार्यकर्ताहरूले आरोप लगाउने गरेका छन् ।

उनीहरूले नै टिकट पाउने आंकलन गर्न थालिएको छ । त्यसैले पनि कार्यकताहरूले पैसा हुनेलाई मात्र उम्मेदवार नबनाउन सुझाव दिएका हुन् । दलहरू हरेक वडामा सम्पर्क कार्यालय खोलेर चुनावी अभियानमा जुटेका छन् । वडादेखि जिल्ला तहमा चुनावी रौनक बढेको छ ।

स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेर चुनावी तयारी अन्तिम चरणमा पु¥याउन थालिएको छ । धेरैजसो मतदाताहरू उमेदवारलाई हेरेर मत दिने मनस्थितिमा छन् । तर दलहरूले भने उम्मेदवारको नाम सार्वजनिक नगर्दा मतदाताहरूमा समेत उमेद्वारबारेको उत्सुकता बढेको छ ।

उम्मेदवारको टुंगो अन्तिम चरणमा पुगेको सबैजसो राजनीतिक दलका नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनका लागि पश्चिम नवलपरासी जिल्लाबाट २७ राजनीतिक दल सहभागी हुँदैछन् । २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल तोकेर निर्वाचनको तयारी अघि बढाइएको हो ।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले एक पालिकाको अध्यक्ष मात्र जितेको छ । अन्यमा कांग्रेस र एमालेले कै बर्चस्व रहेको छ । अहिलेको चुनावमा पनि तिनै दलहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि जितेका पालिकाहरूमा पुनः जित हासिल गर्न र पराजित पालिकामा बाजी मार्न भन्दै दलहरूले उमेदवार उठाउँदै छन् । स्थानीय तहको निर्वाचनमा दलभन्दा पनि उमेदवारको प्रभावका आधारमा भोट आउने आंकलन गरेका दलहरूले जिल्लामा कस्तो परिणाम ल्याउलान त्यो भने वैशाख ३० गतेपछि मात्र छर्लङ्ग हुने नै छ ।