भारतमा कोरोना बढेसँगै सतर्कता अपनाउन सरकारको आग्रह « Imagekhabar – Online News Portal of Nepal


भारतमा कोरोना बढेसँगै सतर्कता अपनाउन सरकारको आग्रह

स्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन

351
Shares

काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज (बिहिबार) एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हाे । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गर्नुभएको छ ।

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ । उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान पनि छन् ।

मार्च २७ बाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ ।

काठमाडौं आउँदा-जाँदा दुवैतिर अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने गाईडलाईन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।