
काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज (बिहीबार) बिहान मृत्यु भएको छ ।
झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा गोली हानेर घाइते भएको पनि प्रहरीले बताएको छ ।
पेट र छातिमा दुई वटा गोली लागेर घाइते भएकी उनलाई उपचारका लागि बुटवल लगिएकोमा त्यहाँबाट भैरहवा मेडिकल कलेज पठाइएको थियो । सोही मेडिकल कलेजमा उनको बिहिबार बिहान मृत्यु भएको हो । उपचारका लागि बिहिबार राति नै काठमाडौं लाने तयारी गरिएपनि हेलिकप्टर उपलब्ध नहुँदा काठमाडौं लैजान नसकिएको जनाइएको छ ।
सिपाही राजवंशीले किन आफैलाई गोली हानिन् भन्ने विषयमा अनुसन्धान भईरहेको पनि कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्