
काठमाडौं, साउन २६ । विश्वकै पहिलो महिला शंकराचार्य घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले केही गलत मानसिकता भएकाहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर बदनाम गर्न खोजेको आरोप लगाइन् ।
पत्रकार सम्मेलनमा उनले आफू शंकराचार्य नियुक्ति भएपछि गरिने रुद्राभिषेकको कार्यक्रम पशुपतिनाथकै परिसरमा गर्ने भनिएपनि पशुपति क्षेत्र विकास कोषले गर्न नदिएको गुनासो पनि गरिन् ।
उनले पशुपतिनाथमा रुद्राभिषेकको कार्यक्रम गर्न नदिएपछि पशुपतिमा नै अवस्थित सुमार्गी भवनमा गर्न लाग्दा पनि कोषले सुमार्गी भवन ठेक्कामा लिएका व्यक्तिलाई बोलाएर धम्क्याउने काम गरेको आरोप लगाइन् ।
पत्रकार सम्मेलनमा उनले आफ्नो रुद्राभिषेकको कार्यक्रम आगामी भदौ ८ गते भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा हुने जानकारी पनि दिइन् ।
कार्यक्रममा भारत, बंगलादेश, थाइल्यान्डलगायतका देशबाट विशिष्ट व्यक्तिहरुको आगमन हुने उनको भनाइ छ ।
अखिल भारत विद्धत परिषदले उनलाई पशुपति मठका शंकराचार्य घोषणा गरेको थियो । तर, सो घोषणा विवादमा परेको छ ।
शंकराचार्य हिन्दुधर्मको सर्वोच्च पद हो । शंकराचार्य घोषित गर्ने ‘आधिकारिक निकाय’ काशी विद्धत परिषद भएको बताइन्छ । उक्त परिषदले गिरी शंकराचार्य नभएको जनाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्