३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो, बेल्जियमबाट आएकी युवतीमा संक्रमण पुष्टि


0
Shares

काठमाडौं, चैत १५ । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ ।

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल काठमाडौंबाहिर रहेकी युवती चिकित्सकको सम्पर्कमा रहेको जानकारी दिए ।

देवकोटाले चीनबाट मेडिकल सामग्रीहरु आएको भोलिपल्टैबाट वितरण गर्ने जानकारी पनि दिए ।

जसमा ‘पीपीई’, कोरोनाभाइरस परीक्षण किटलगायतका सामग्री रहेको उनले बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएको र हेटौंडामा तयारी भइरहेको जानकारी उनले दिए ।

यस्तै, कोरोनाभाइरसबारे जानकारी दिन र लिन ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ । मन्त्रालयले यसअघि १११५ नम्बरको कल सेन्टर सुरु गरेको थियो ।

नेपाल उद्योग परिसंघले ७५ हजारथान मास्क र १०० पीपीई प्रदान गरेको तथा एकीकृत व्यापार कम्पनीले ४० थान पीपीई प्रदान गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।