१९ भाद्र २०८२, बिहिबार | Fri Sep 5 2025


‘क्यान्सर अस्पतालमा पोस्ट ग्राज्युसन अध्यापन गराउने तयारी’


0
Shares

चितवन, साउन २६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर विशेषज्ञ र दक्ष जनशक्ति निर्माणका लागि पोस्ट ग्राज्युसन अध्यापन गराउने तयारी भइरहेको बताएका छन् ।

शनिबार अस्पतालका कर्मचारीहरुसँगको छलफल कार्यक्रममा मन्त्री यादवले क्यान्सर अस्पताललाई नमुना केन्द्रीय अस्पतालकारुपमा विकास गरी अध्यापनको पाटोलाईसमेत समेट्न लागिएको जानकारी दिए ।

उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक रहेकाले पोस्ट ग्राज्युसन अध्यापनका लागि अस्पताललाई आन्तरिक तयारी गर्न निर्देशनसमेत दिए ।

उनले यसको अध्यापनले क्यान्सर अस्पतालहरुमा चाहिने दक्ष जनशक्तिका लागि सहज हुने विश्वास व्यक्त गरे ।

‘एमबीबीएस पढाइ सबै ठाउँमा हुन्छ । यहाँ क्यान्सरसँग सम्बन्धित क्षेत्रको अध्यापनमात्रै गराउने तयारीमा छौं’–मन्त्री यादवले भने ।

बाँकेको खजुरामा स्थापना भएको क्यान्सर अस्पताल र पूर्वमा स्थापना गर्न लागिएको क्यान्सर अस्पतालमा चाहिने दक्ष जनशक्तिका लागि पनि पोस्ट ग्राज्युसनको अध्यापन आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री यादवले अस्पतालका कर्मचारीहरुलाई काममा ‘डेडिकेटेड’ भएर लाग्न आग्रह गर्दै अस्पतालको विकासका लागि आवश्यक पर्ने खर्चमा कुनै समस्या नहुने उल्लेख गरे ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निर्मल लामिछानेले अस्पतालको अवस्था र भावी योजनाकाबारेमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।

सोक्रममा निमित्त डा. लामिछानेले क्यान्सर अस्पताललाई क्यान्सर रोगको अध्ययन प्रतिष्ठानकारुपमा विकास गर्ने भावी योजना रहेको जनाए ।

उनले गत वर्षमात्र ३७ हजार बिरामीले क्यान्सर अस्पतालमा सेवा लिएको जानकारी दिए ।