
नवराज छत्कुली (इमेज)
धादिङ, साउन २६ । अरुका नाममा एसइई परीक्षा दिइरहेका एक परीक्षार्थीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकामस्थित नीलकण्ठ माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थी विक्रम गुरुङलाई प्रहरीले पक्रेको हो ।
शनिबार भएको विज्ञान विषयको ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३ ‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३ ‘वाइ’ सिम्बोल नम्बरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए ।
दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका हुन् । दुवै परीक्षार्थीले शुक्रबार एसइईको गणित विषयको ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
शनिबारको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाइ दिन पठाएको सक्कली परीक्षार्थी घिमिरले बताए ।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।
जसको परीक्षा हो, उसको सट्टामा अरुले नै परीक्षा दिएको पाइएमा सक्कली परीक्षार्थीलाई तत्काल निलम्बन गरी अधिकतम् दुई वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दन्डित गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्नुपर्ने नियम रहेको छ ।
नक्कली परीक्षार्थीले परीक्षा दिएको उत्तरपुस्तिका, घटना मुचुल्का र केन्द्रध्यक्षको प्रतिवेदन शिक्षा विकास तथा समन्वय इकाइमार्फत् परीक्षा नियन्त्रण कार्यालयमा पठाइने शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्