Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरे पनि कारबाही हुन्छ : निर्वाचन आयोग


130
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

रूपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र उल्लंघन भए कारबाही हुने प्रतिबद्धता जनाएको हो ।

आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताउनुभयो ।

‘आचारसंहिता उल्लंघनबारे सम्पूर्ण कुरा आयोगले मात्र अनुगमन गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘उल्लंघन भए सञ्चारमाध्यमले निगरानी गरेर जानकारी गराउनुपर्ने हुनसक्छ ।’

पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उहाँले सुरक्षा निकाय जस्तै सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडियानै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उहाँको भनाइ छ ।

‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ ।’

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।