
काठमाडौं, चैत १४ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को वाइडबडी जहाजमार्फत् चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।
औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुंगिनसकेको राससलाई जानकारी दिइन् ।
‘हाम्रा (निगमको) वाइडबडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो । तर, यो प्रक्रियामै छ । ‘ओभर फ्लाइङ पर्मिसन’का लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ । उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ’-उनले भनिन् ।
वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउनेछ ।
यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।
यसअघि, कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइडबडी जहाजले स्वदेश ल्याएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइडबडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिए ।
शुक्रबार साँझसम्म उडान तालिका बन्ने उनले उल्लेख गरे ।
सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्