संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात « Imagekhabar – Online News Portal of Nepal


संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

दुःख दिने नियत नराख्न कर्मचारीलाई मन्त्री श्रेष्ठकाे निर्देशन

130
Shares

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ ।

सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताउनुभयो ।

उहाँले सरकारले संस्थागत रूपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरूलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गर्नुभयो ।

वैदेशिक रोजगार कार्यालयहरूले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको काममा ढिलासुस्ती र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

अब सरकारले वैदेशिक रोजगारीसम्बन्धी सबै कामहरू अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताउनुभयो ।

उहाँले संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत् हुँदा सेवाग्राहीहरूले छिटो, छरितो र गुनासोरहित सेवा हुने अपेक्षा कार्यालयको रहेको बताउनुभयो ।

कार्यालय प्रमुख अर्यालले चालू आर्थिक वर्षको ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति भएको बताउनुभयो ।

कार्यालय प्रमुख अर्यालले अबको एक हप्ता पछि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारीमा कार्यालय रहेको जानकारी दिनुभयो ।