बार्सिलोना क्वाटरफाइनलबाट बाहिरियो « Imagekhabar – Online News Portal of Nepal


बार्सिलोना क्वाटरफाइनलबाट बाहिरियो


312
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३–२ ले पराजित भएपछि बार्सिलोना समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा समग्रमा फ्रान्कफुर्ट ४–३ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

फ्रान्कफुर्टका लागि फिलिप कोस्टिकले दुई तथा राफेल सान्तोसले एक गोल गरे । यस्तै, बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा फिलिपले पेनाल्टीबाट गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा राफेलले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । ६७ औं मिनेटमा फिलिपले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफुर्टलाई ३–० ले अग्रता दिलाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि बार्सिलोनाका डिपेले पेनाल्टीमार्फत एक गोल फर्काएपनि बार्सिलोना ३–२ ले पराजित भयो ।

इन्जुरी समयको दशौं मिनेटमा इभानले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटियो ।

सेमिफाइनलमा अब फ्रान्कफुर्टको भिडन्त इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडसँग हुनेछ । क्वाटरफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई समग्रमा ४–१ ले पराजित गर्दै वेष्ट ह्याम युनाइटेड सेमिफाइनलमा उक्लिएको हो ।

युरोपा लिगका अन्य खेलहरुमा पोर्चुगलको स्पोर्टीङ ब्रागालाई समग्रमा ३–२ ले पराजित गर्दै स्कटल्याण्डको रेन्जर्स तथा इटालीको एटलान्टालाई ३–१ ले पराजित गर्दै जर्मनीको आर.बी लेप्जीग पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।