Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


श्रमिकका लागि राहत प्याकेज ल्याउन सरकारसँग नागरिक अगुवाहरुको माग


0
Shares

काठमाडौं, चैत १३ । श्रमिकहरूका लागि विशेष राहत घोषणा गर्न नागरिक समाजका अगुवाहरूले सरकारसँग माग गरेका छन् ।

राहत प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कुल शुल्क मिनाह, निःशुल्क उपचारलगायतका व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

पूर्वप्रधानन्यायाशीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले विज्ञप्ति निकाली श्रमिकका लागि राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ । त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको बिदा, बालबच्चाको स्कूलमा फि मिनाह, निःशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत् कार्यान्वयन गर्न सकिन्छ ।’

सरकारले पछिल्ला दिनमा चालेका कदमको स्वागत गर्दै उनीहरुले, ‘दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस्’ भनेका छन् ।

नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नुपर्नेको संख्या ठूलो रहेको भन्दै विज्ञप्तिमा, ‘संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ । उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्वीकार्नु पर्ने बाध्यता नहोस्’ भनिएको छ ।

कोरोना संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नुपर्ने पनि उनीहरुले उल्लेख गरेका छन् ।