८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने


494
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ ।

याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर र उपमेयरसहित २४ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको हो । केन्द्रमा कलैया उपमहानगर कांग्रेसले लिने र जीतपुर सिमरा माओवादीलाई छाड्ने सहमति भएको चर्चालगत्तै कांग्रेसको स्थानीय कमिटीले यस्तो निर्णय गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिकाका कांग्रेस सभापति छवि शर्माले उपमहानगरमा गठबन्धनबिनै कांग्रेसले चुनाव जित्ने भन्दै कार्यकर्ताको चाहना पनि एक्लै चुनावमा जानुपर्ने भएको बताउनुभएकाे छ । सत्ता गठबन्धनमा देशका ११ उपमहानगर मध्ये पाँच वटा कांग्रेसलाई, दुई वटा माओवादीलाई तथा नेकपा एकीकृत समाजवादी र जसपालाई एक-एक वटा दिने सहमति गरेको छ ।

सहमति अनुसार माओवादीले जितपुर सिमरा पाउने सहमति भएसँगै नेपाली काँग्रेसको क्षेत्र र नगर कमीटीले गठबन्धनको निर्णय नमान्ने भएको हो । क्षेत्रीय सभापती सुमन भटराईले आगामी निर्वाचनमा गठबन्धनबिनै चुनाव लड्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

यसअघि दोस्रो भएको नेपाली काँग्रेसले कलैया उपमहानगर आफूले लिएर जितपुर सिमरा माओवादीलाई छाड्नुपर्ने स्थानीय नेताहरूले लबिङ गर्न थालेसँगै सो उपमहानगरमा काँग्रेसले छोड्ने सहमती भएको हो । श्रोत र साधनले सम्पन्न जितपुर सिमरा उपमहानगर भ्रष्टाचार र कार्य सम्पादनमा असफल बनेसँगै एमालेले जनाधार गुमाएको बताउदै नेतृत्वका लागि काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा र होडबाजी नै चलिरहेको छ ।

बाराको जितपुर सिमरा उपमहानगर पालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो।एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले १४ हजार ८ सय ६५ मत ल्याएर मेयर पदमा विजयी हुँदा काँग्रेसका उम्मेदवार कृष्णवर्त सिंहले ११ हजार ९ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा माओवादीका उम्मेदवार राजन पौडेलले काँग्रेसकै हाराहारीमा ११ हजार २ सय ५१ मत प्राप्त गर्नुभएको थियो ।