२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


गभर्नर अधिकारीलाई लगाएको आरोप पुष्टि हुँदैन : पूर्वगभर्नर डा. नेपाल


975
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वगभर्नर नेपालले राष्ट्र बैंक ऐन २०५८ अनुसार यो एक स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्तता दिनुपर्ने बताउनुभयो ।

वित्तीय स्वायत्तता दियो भने केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै उहाँले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ भन्ने मान्यता विश्वभरी रहेको दाबी गर्नुभयो ।

केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक–फरक रूपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच टसल भइरहने उहाँको भनाइ छ ।

सरकारले स्वायत्त संस्थालाई हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीको मनोबल कमजोर हुने उहाँको दाबी छ ।

राजनीतिक दल सरकारमा आएपछि चुनावमा जनतासँग गरेका प्रतिवद्धता बजेटमार्फत पूरा गर्नेतर्फ लाग्ने तर केन्द्रीय बैंक संकुचित सोचबाट हिँड्ने भएकाले दुबैको कुरा नमिल्ने नेपालको भनाइ छ ।

दुवैको काम फरक भए पनि उद्देश्य भने देशको आर्थिक विकासको लागि सँगै समन्वय गरेर अगाडि बढ्ने रहनुपर्ने नेपालले बताउनुभयो ।

अहिले नेपालको अर्थतन्त्रको विषयमा जति नै बहस गरे पनि श्रीलंकाको जस्तो अवस्थाबाट अर्थतन्त्र नगुज्रिएको नेपालको दाबी छ ।