१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


समाजवादीकाे निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेद्वारको टुंगो लगाइने


78
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एस) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै, महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ ।

आज (आइतबार) सकिएको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मूल निर्वाचन कमिटी र सचिवालय गठन गरेको हो । निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

एकीकृत समाजवादीले स्थानीय निर्वाचनलाई लक्षित गरी मूल निर्वाचन परिचालन कमिटी, केन्द्रीय सचिवालय गठन गर्नुका साथै स्थानीय तहमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पनि तय गरेको छ । एकीकृत समाजवादीले स्थानीय तहमा उम्मेदवार सिफारिस गर्दा ८ मापदण्ड तय गरेको छ ।

पार्टी केन्द्रले वडा तह हुँदै आएका सिफारिसलाई आधार मानेर वैशाख ८ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । वडा कमिटीले चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ । त्यस्तै, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ ।

त्यस्तै, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ । त्यसपछि केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने समय तालिका निर्धारण गरिएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने कमिटीले पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेका, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेका नेताहरूलाई सिफारिस गर्नुपर्ने मापदण्ड तय गरेको छ ।