रोमन आचार्य र भूपेन्द्र खड्का (इमेज)
काठमाडौं, चैत १० । कोरोना संक्रमणबाट बच्न राजनीतिक दलका शीर्ष नेतृत्वहरुले ‘सेल्फ लकडाउन’ गर्न थालेका छन् ।
नेताहरुले घरमा बढी समय बिताउने, कार्यकर्ता भेटघाटलाई सीमित गर्ने, फोन सम्पर्कको माध्यमबाट छलफल तथा संवाद गर्ने कार्यहरु गरिरहेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले संक्रमणविरुद्ध लड्न ‘सेल्फ क्वारेन्टाइन’लाई प्राथमिकता दिने भएका छन् ।
उनीहरुले सचिवालय बैठक र अन्य अत्यावश्यक कामलाई भने रोकिनहाल्ने मनस्थिति बनाएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे बताउँछन् ।
यो अवधिभर नेताहरु सामाजिक सञ्जालको प्रयोगबाट सचेतना सन्देश प्रवाह गर्ने नेताहरुले योजना बनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले अतिआवश्यकबाहेक सम्पूर्ण भेटघाटलाई पूर्णरुपले बन्द गरेका छन् । उनीहरुले कार्यकर्ताहरुसँग फोनबाटै सम्पर्क गरिरहेका छन् ।
नेता शेखर कोइराला भने विराटनगर पुगेका छन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार पार्टीले सार्वजनिक कार्यक्रम स्थगन गरेपछि शीर्ष नेताहरुले भेला भएर गरिने छलफलहरुलाई कम गरेका छन् ।
केही समयअघिमात्र एक भएका राप्रपाका शीर्ष नेताहरु पनि घरबाहिर कम निस्कन थालेका छन् ।
नेता किशोर कार्कीकाअनुसार तीनजना अध्यक्षले कार्यकता भेटघाटलाई सीमित गरेका छन् । संक्रमणका कारण तल्लो तहसम्मको पार्टी एकता कार्य प्रभावित भएको छ ।
यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव केशव झाकाअनुसार पार्टीका अध्यक्षमन्डलका ६ जना नेताहरुसहित अन्य शीर्ष नेतृत्वले भेटघाट र छलफललाई स्थगन गरेर घरमै सुरक्षित भएर बसिरहेका छन् ।
समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितका नेताले बाहिरी भेटघाट कार्यक्रमलाई स्थगन गरेको पार्टीका उपाध्यक्ष नवराज सुवेदी बताउँछन् ।
संक्रमण नियन्त्रण गर्न आफैं सुरक्षित रहनुको विकल्प छैन । सरकार वा सम्बन्धित निकायको पहलकदमीले मात्र विश्व संकट टार्न सम्भव छैन ।









प्रतिक्रिया दिनुहोस्