काठमाडौं, चैत १० । संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
कोरोनाभाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक गर्न सरकारले निषेध गरे पनि सोमबार बसेको संसदीय समितिको बैठकले पाण्डेको नाम राजदूतका लागि अनुमोदन गरेको हो ।
गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।
यसअघि, सुनुवाइ समितिले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने १० दिने समयसीमाभित्र एउटा पनि उजुरी नपरेपछि पाण्डेको सोमबार नै संसदीय सुनुवाइ गरिएको थियो ।
समितिको बैठकमा पाण्डेले राजदूतले गर्नुपर्ने सवैप्रकारका जिम्मेवारीलाई इमान्दारपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाइमा पुर्याउने प्रयास गर्ने बताए ।
नेपालमा लगानी वृद्धिका लागि आवश्यक वातावरण तयार पार्न आफू गम्भीर भएर लाग्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्