२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एमबीबीएस परीक्षामा सेटिङ धन्दाः नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली


1.898k
Shares

काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको स्रोतको दाबी छ ।

चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम) ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडांैको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ । ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडाैको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो । शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए । यसरी प्रहरीले चार जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडाैको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २ सय जना नक्कली परीक्षार्थी सहभागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । ती सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।