
विराज रोस्यारा
कैलाली, साउन २५ । पश्चिम तराईका थारु समुदायमा मात्र देखिएको सिकलसेल एनिमिया रोगका बिरामीहरु बढ्दै गएका छन् ।
सरकारले सिकलसेलका बिरामीलाई एक लाख बराबरको उपचार सुविधा दिए पनि उनीहरुले सबै उपचार निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
पछिल्लो एक वर्षमा सिकलसेलका बिरामीको संख्या अत्याधिक बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १११ जना नयाँ बिरामी भेटिएकोमा गत आर्थिक वर्ष २ सय ७५ जनामा सिकलसेल देखिएको जनस्वास्थ्य कार्यालयका सिकलसेल फोकल पर्सन महेश चन्दले जानकारी दिए ।
सचेतना बढ्दै जाँदा बिरामी चेकजाँचका लागि अस्पताल आउन थाल्नु र संक्रमण दर पनि बढ्दै जाँदा नयाँ बिरामी पहिचान हुने क्रम बढेको उनले बताए ।
निःशुल्क उपचारका लागि सिफारिस लिनेमध्ये ८३ प्रतिशत सिकलसेलका बिरामी रहेको जनस्वाथ्य कार्यालयले जनाएको छ ।
कैलालीमा सेती अञ्चल अस्पताल र घोडाघोडी अस्पतालमा सिकलसेलको उपचारको व्यवस्था गरिएको छ । सेती अञ्चल अस्पतालमा हालसम्म ४ सय ५० जना बिरामीले उपचार गराएको अस्पतालको सिकलसेल फोकल पर्सन यशोदा ढकालले जानकारी दिइन् ।
पहिलेको तुलनामा बिरामीको संख्या दोब्बर बढेको उनको भनाइ छ ।
बिरामीको संख्या वर्षेनि बढ्दै जाँदा यसको रोकथाम र उपचारका लागि सरकारले प्रभावकारी कार्यक्रम संचालचन गर्नुपर्ने माग थारु अगुवाले गरेका छन् । सिकलसेल थारु समुदायमा देखिएको ठूलो समस्या हो र नयाँ बिरामी बढ्दै जानुले यसको संक्रमण दर बढ्दै गएको देखिएको छ ।
थारु अगुवा प्रभातकुमार चौधरीले सरकारले छुट्टै संयन्त्र बनाएर यो रोगको नियन्त्रण र उपचारमा प्रभावकारी कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।
सिकलसेलका बिरामीलाई सरकारले १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ । तर सिकलसेल पीडितले भने पुरै उपचारको व्यवस्था निःशुल्क गर्न माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्