Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


एमालेसँग कुनै तालमेल हुँदैन : महासचिव भुसाल


1.3k
Shares

कैलाली । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.वेदुराम भुसालले एमालेसँगको कुनै तालमेलको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

मंगलबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले सरकारमा हुँदा एमालेले संविधान विपरीतका काम गरी इतिहास रचेकाले चुनावी तालमेलको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

‘एमाले अध्यक्ष केपी ओली सरकारमा हुँदा संविधान कुल्चिएर संसद विघटन गरी नेपाली जनतालाई अध्यारोमा धकेल्ने प्रयास भयो,’ उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘तानाशाही शासन गर्न खोज्ने र संविधान विपरीत काम गरी इतिहास कायम गरेको पार्टीसँग हाम्रो पार्टीले सहकार्य गर्दैन ।’

एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको महासचिव भुसालको दाबी छ । एमालेसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

भुसालले तत्काल माओवादीसँग पनि एकता हुन नसक्ने स्पस्ट पार्नुभयो । माओवादीसँग कार्यगत एकता हुने तर एकताको सम्भावना नरहेको उहाँको भनाइ छ । देशमा रहेका साना पार्टी तथा समूहहरू समाजवादीमा समाहित भइरहेको र धेरै पार्टीहरूसँग छलफल पनि चलेको उहाँले बताउनु भयो ।

‘साना र विचार मिल्ने दलहरूलाई एकताबद्ध गर्ने कार्यमा पार्टी लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘ठूला दलसँग तत्काल एकताको कुराकानी चलेको छैन ।’

पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनसम्मै जाने दाबी गर्दै महासचिव भुसालले गठबन्धन कायम गर्न अरु दलको संस्थाग निर्णय भइसकेको र कांग्रेसले पनि छिट्टै निर्णय गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।