२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


‘शक्ति बढाउने, नेतृत्व आफै गर्ने’ : कृष्ण सिटौला


0
Shares

काठमाडौं, चैत्र ३ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले आफ्नो गुटको क्षमता बढाएर आगामी महाधिवेशनमा आफैले नेतृत्व गर्ने प्रष्ट गरेका छन् ।

काठमाडौंमा आफू पक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सिटौलाले आफ्नो समूहमा कांग्रेसको नेतृत्व गर्ने क्षमता भएकाले अरुको आश्रयमा नजान र आफ्नो क्षमता विस्तार गर्नपट्टी लाग्न निर्देशन दिएका हुन् ।

वैकल्पिक वा तेस्रो समूह जे भने पनि आफ्नो समूह विस्तारित भएकाले कांग्रेसलाई नेतृत्व दिएर देशको परिस्थिति बुझ्नसक्ने क्षमता रहेको उनको दावी थियो ।

विधानतः आफ्नो कार्यकालको समय सकाइसकेको नेपाली कांग्रेसको वर्तमान नेतृत्वले एक वर्ष ढिला गरी आगामी वर्षको फागुनमा महाधिवेशन गर्ने मिति तोकेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूह आ–आफ्नो शक्ति विस्तारको रणनीतिमा लागेका छन् ।

आफ्नो क्षमता विकास गरेर अरुलाई आश्रय दिनसक्ने बन्न सुझाव दिँदै सिटौलाले महाधिवेशन पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिन कार्यकर्तालाई आग्रह गरे ।

गाउँ गाउँमा क्रियाशील सदस्यता बाँड्ने समय भएकाले आफ्ना कार्यकर्तालाई गाउँ र जिल्लामै केन्द्रित हुन पनि उनले निर्देशन दिए ।

कूनै पनि बहानामा महाधिवेशन सार्नेतर्फ नलाग्न नेतृत्वलाई खबरदारी गर्दै सिटौला कांग्रेसले प्रतिपक्षको जिम्मेवारी समेत राम्रो निभाउन नसकेको बताए । नेता सिटौलाले संवैधानिक निकायलेसम्म निस्पक्ष काम नगरेको आरोप लगाएका थिए ।