२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


शीर्ष नेता लाञ्छनापूर्ण व्यक्तिगत गाली गलौजमा व्यस्त, चुनावी एजेण्डामा भने चुप


260
Shares

काठमाडौं । नेताहरु यतिबेला चुनावी दौडाहामा छन् । शीर्ष नेताहरु त दैनिक जिल्ला फेरि फेरि चुनावी माहोल तताउने होडमा देखिन्छन् । मतदाताको ध्यानाकर्षण गर्न उनीहरुसँग कुनै आर्थिक, सामाजिक, राजनीतिक एजेण्डा छैन । बरु व्यक्तिगत भद्दा गाली गलौज र आक्रमणमा उत्रिनुलाई उनीहरुले स्वधर्म ठान्दै आएका छन् । जसले सामाजिक मर्यादाको धज्जी उडेको छ ।

स्थानीय निकायको नजिकिदै गर्दा शीर्ष नेताहरु देशव्यापी दौडाहामा छन् । चुनावी तालमेलबिना आफ्नो राजनीतिक अस्तित्व संकटग्रस्त रहेको बुझेका उनीहरु मञ्च पाउनासाथ आत्मरतिमा मात्र रमाउँदैनन, मुखमा आएसम्मको व्यक्तिगत गाली गलौज गर्छन । अचम्म त नेताहरुको मुखबाट जे जस्तो आपत्तिजनक अभिव्यक्ति आएपनि कार्यकर्ताहरु पर्रर्र ताली बजाउन चुक्दैनन । नेताहरुले बोलेपछि राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल रंगिने भइहाले । उनीहरुले बोल्ने असभ्य बोलीको सामाजिक प्रभाव कस्तो पर्ला ? त्यो अर्को चिन्ताको विषय हो ।

एउटा नेता अर्को नेताविरुद्ध खनिएको केही समयमै त्यो भन्दा चारगुना छुद्र जवाफ आउने गर्छ । शीर्ष नेताहरुले शनिबार विभिन्न ठाउँमा दिएका अभिव्यक्ति नै उनीहरुको कटाक्ष मापन गर्न पर्याप्त छन् । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा एमाले मतपेटिका शून्य बनाएर केपी ओलीलाई दण्डित बनाउने बताउनुभकोथियो ।

त्यस्तै केपी ओली पनि सवालको जवाफ दिनुभयो । प्रचण्डले त ओलीकै कारण व्यवस्था धरापमा परेको मात्र हैन, गणतन्त्रलाई बयलगाडासंग जोडेको प्रसंग दोहोर्‍याउनुभयो । ओलीले संसद निकम्मा बनाउने अभियानमा लागेको आक्षेप लगाउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई केही दिनअघि रेस्लरको संज्ञा दिनुभएकोमा आलेले दुर्योधनसँग तुलना गरेर प्रतिशोध साँध्नुभयो । माओवादी केन्द्र र समाजवादी मात्र होइन, कांग्रेस पनि ओलीको आक्रमणबाट बचेन ।

कांग्रेस सभापति शेरबहादुर देउवा एमाले नेता भीम रावलमाथि खनिएको प्रसंग पनि उतिक्कै चर्चित रह्यो । उपाध्यक्ष धनराज गुरुङले माओवादीलाई लक्षित गरी हात्तीरुपी कांग्रेसको कानमा चमेरोरुपी माओवादी शरण लिन आएको अभिव्यक्तिले पनि राजनीतिक बजार ततायो । जेसुकै नाममा भएपनि सामाजिक मर्यादा भत्काएर बोल्ने अधिकार नेतालाई छैन । बोल्नुअघि म कहाँ बोल्दैछु, के बोल्दैछु र किन बोल्दैछु भन्ने प्रश्नको उत्तर नेताहरुले खोज्न जरुरी छ ।