Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


कपिलवस्तुको बाणगंगामा १३२ केभी क्षमताको सबस्टेसनको उद्घाटन


104
Shares

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ ।

१ सय ३२ केभी क्षमताको उक्त सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आज (शुक्रबार) उद्घाटन गर्नुभएको हो । पूर्व–पश्चिम १ सय ३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर छन् ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको भन्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन समेत आग्रह गर्नुभएकाे छ ।